विराटनगर ।  यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले  राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री  नीति निर्माण गरिनुपर्नेमा माग राखेका छन् ।  मितिनी नेपालले विराटनगरमा आइतबार सरोकारवालहरुसँग आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग राखेका हुन् । 
यौनिक तथा लैङ्गिक अल्पसंख्यक सुमन तामाङ्गले राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई बैवाहिक मान्यता नदिदा हजारौ यौनिक अल्पसंख्यकहरु समस्यामा परेको बताए । ‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्वक बाँच्न पाउने अधिकारीबाट बन्चित हुनुपरेको छ ।’  यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई नागरिकतामा बनाउन पनि समस्या रहेको उनले बताइन् । ‘अहिले पुरुष र महिलाहरुको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको नागरिकता नबन्दा रोजगारबाट बन्चित हुनुपरेको अवस्था छ,’ उनले भने, ‘राज्यले अब पहिचान अनुसारको नागरिता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरु थुप्रै सेवा सुविधाहरुबाट बन्चित हुनुपरेको अवस्था रहेको उनले बताइन् ।

मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई बैवाकि मान्यता चाडो दिनुपर्ने बताइन् । बैवाहिक मान्यता नपाउँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई धर्म सन्तान राख्न पाउनुपर्ने अधिकारबाट पनि बन्चित हुनुपरेको उनले बताइन् । ‘अहिलेको कानुनमा विवाह गरेको पुरुष र महिलाको सन्तान भएन भने मात्र धर्म सन्तान राख्न पाउने व्यवस्था गरेको छ । तर, हाम्रो हकमा यस्तो व्यवस्था छैन ।  त्यसैले राज्यले हामीलाई विभेद गरेको छ,’ उनले भनिन्, ‘त्यसैले राज्यले बनाउने नीति निमार्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री बनाउनु पर्दछ ।’